श्री ५ महाराजाधिराज ज्ञानेद्र वीर विक्रम शाह देवबाट बि.स. २०८२ सालको नयाँ बर्षको उपलक्ष्यमा बक्स भएको शुभकामना सन्देशमा अन्य विषयका साथै दुईवटा सोचनीय कुरा उल्लेख गरिबक्सेको थियो। ती मध्ये एउटा “राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ?” भनेर प्रश्न गर्दै देशको राजनीतिक मार्गदर्शक सिद्धान्त पृथ्वीपथ हुन पर्ने भन्ने सन्देश गरिएको छ। त्यसैगरि अर्को “प्रकृतिले स्वर्गजस्तै दिएको सुन्दर हिमवत् खण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न अभियान चलाउने आजको आवश्यकता भएको छ” भनेर हिमवत् खण्डमा रहेको नेपालको पौराणिक रैथाने सांस्कृतिक मूल पहिचानलाई संरक्षण गर्दै त्यसैलाई आधार बनाएर देशको समुन्नत विकासमा लाग्न पर्ने प्राथमिकता औल्याइएको छ। यी दुई शब्दावलीहरु पृथ्वीपथ र हिमवत् खण्डलाई श्री ५ सरकारले आफ्नो सन्देशमा समेटेएको सायद पहिलो पटक हुनपर्छ। तर सन्देशमा अबको राजसंस्थासहितको नेपालको राजनीतिक र साँस्कृतिक आधार के हुने र आधुनिक विकासमा अगाडि बढ्दै गर्दा नेपालको साँस्कृतिक पहिचानलाई कसरी अक्षुण्ण राख्ने भनेर स्पष्ट संकेत गरिएको छ। यसै सन्दर्भमा पृथ्वीपथ के हो र यो कसरी नेपालको राजनीतिक मार्गदर्शक सिद्धान्त बन्नसक्छ, यो सिद्धान्तले कसरी देशको समग्र समूदाय र अर्थतन्त्रलगायतका क्षेत्रहरुलाई समेट्छ भनेर यहाँ उल्लेख गर्न खोजिएको छ।
सर्वप्रथम पृथ्वीपथ बुझ्न श्री ५ बडामाहाराजाधिराज पृथ्वी नारायण शाहको दिव्यउपदेशलाई केलाउन पर्ने हुन्छ। पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणका नेतृत्वकर्ता, आधुनिक नेपालका संस्थापक तथा एक दुरदर्शी नेताका रुपमा हेरिन्छ। उनले आफ्नो जीवनको अन्तिम अवस्थातिर आफ्ना भाइभारदारहरुको अगाडि बोलेर गएको कुरोलाई लिपिबद्ध गरिएको सन्देशलाई नै दिव्योपदेशको नाममा चिनाउन थालिएको हो। सुरुमा पृथ्विनारायण शाहको यस सन्देशलाई इतिहासकार बाबुराम आचार्य र सूर्य बिक्रम ज्ञवालीले बि.स. २००९ सालमा ‘व्याख्यान’ भनी छापिएको छ भने बि.स. २०१० सालमा नरहरिनाथले ‘पृथ्वीनारायण शाहको दिव्योपदेश’ भनि नाम राखेका थिए। तर त्यो भन्दा झन्डै दुइ दसक अघि नै बि.स. १९९२ सालमा नै सूर्य बिक्रम ज्ञवालीले पृथ्वीनारायण शाहको चरित लेख्दा नै पृथ्वीनारायण शाहको दिब्योपदेशको पाण्डुलिपिको उपयोग गरेको भनेर बताएका छन्। समग्रमा उक्त दिव्योपदेशमा पृथ्वीनारायण शाहले आफुपछि नेपालले कुन क्षेत्रमा कस्तो नीति अपनाउने, कसलाई कस्तो जिम्मेवारी दिने, विदेश नीति, सुरक्षा नीति, आर्थिक नीति, सैन्य भर्ना नीति, सांस्कृतिक धार्मिक नीति आदि कस्तो हुनपर्ने भनेर मार्गनिर्देशन गरिएको छ। पृथ्वीनारायण शाहले त्यो समयको कालखन्डमा बताएको राष्ट्रिय नीति अहिलेको अवस्थामा अझ धेरै सान्दर्भिक र उपयोगि हुने देखिएर नै उक्त दिव्योपदेश अबको नेपालको राजनीतिक मार्गदर्शन बनाउन राष्ट्रवादि नागरिकहरु अभियानमा लागेका हुन्। यसै सन्दर्भमा राष्ट्रवादि धारका प्रमुख अभिभावक श्री ५ महाराजाधिराजले यो विषयलाई नयाँ वर्षको उपलक्ष्यमा बक्स भएको शुभकामना सन्देशमा समेटी बक्सेको हो।
पृथ्वीपथले समेटेका केहि क्षेत्रहरुः
१. जन-केन्द्रित शासन र नेतृत्व चयनःपृथ्वीनारायण शाहको जनताप्रति विश्वास उनको नेतृत्व छनोटमा झल्किन्छ। 'दिव्योपदेश' अनुसार, जनताले रुचाएको व्यक्ति नै काजी (प्रधानमन्त्री) बन्न योग्य हुन्छ, राजाको इच्छाले मात्र होइन। उदाहरणका लागि, उनले आफ्नो व्यक्तिगत इच्छाभन्दा जनताको चाहनालाई प्राथमिकता दिँदै कालु पाँडेलाई काजीको जिम्मेवारी दिएका थिए, जबकि उनी बिराज बखेतीलाई काजी बनाउन चाहन्थे। २५० बर्ष पहिलाको नेपालमा मात्र नभएर विश्वभर नै राष्ट्रको शक्ति राजा र राजाको शक्ति ‘दैविक शक्ति’ भन्ने मान्यता रहेको समयमा समेत एउटा राजाले आफ्नो भित्री इच्छालाई पन्छाएर जनताको अभिमत बुझेर जनताले रुचाएको ब्यक्तिलाई नै काजी नियुक्ति गर्नु त्योबेला नै सबैभन्दा प्रगतिशिल र प्रजातान्त्रिक सोच मान्नपर्ने हुन्छ।
२. जनताको हित सर्वोपरि: शोषणमुक्त समाजको परिकल्पनाः पृथ्वीनारायण शाहको मुख्य उद्देश्य जनताको हित थियो, शोषण गर्ने मनसाय होइन। उनको भनाइ 'जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो' ले यो कुरा प्रस्ट पार्छ। यसले जनताको आर्थिक समृद्धिले नै राष्ट्रलाई बलियो बनाउँछ भन्ने उनको जनकेन्द्रित आर्थिक चिन्तनलाई देखाउँछ। भलै उनको समयमा राज्यका स्रोत साधनहरु राज्य र विशेषतः राजा नियन्त्रित नै थिए। तर उनले ‘प्रजा मोटा भया राज्य बलियो हुन्याछ’ भनेर नागरिकको सम्पन्नता नै राज्यको मुल नीति हुनपर्छ भनेर बताएको पाइन्छ।
३. समावेशी राष्ट्र: 'सबै फूलहरूको बगैंचा’: राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको समावेशिताको चिन्तन पनि महत्त्वपूर्ण थियो। उनले नेपाललाई 'यो मेरो सानो प्रयासले प्राप्त भएको राष्ट्र होइन, यो सबै प्रकारका फूलहरूको बगैंचा हो' भनी परिभाषित गरेका छन्। उनले 'चार जात र छत्तीस वर्ण' को साझा बगैंचाको रूपमा नेपाललाई चिनाएका छन्। नेपालमा १२१ भन्दा बढी मातृभाषाहरू र अनगिन्ती जातजातिहरू रहेको सन्दर्भमा यो विविधता नै नेपालको गौरव र शक्ति हो। उनले आफूले जितेको श्रेय आफैंले नलिई, यसलाई सबै नेपालीको साझा प्रयासको फल मानेका छन्।
एकिकरणको शिलसिलामा काठमाडौँ विजयपश्चात् पनि उनले उदारता देखाएका छन्। काठमाडौं जितेपछि उनले नेवार कुमारीको आशीर्वाद मात्र लिएनन्, नेवारी समुदायका पर्व, जात्रा र महोत्सवलाई निरन्तरता दिए। उनले जितेको राज्यको नाम 'गोर्खा' नराखी 'नेपाल' राखे, जसले उनको समावेशी दृष्टिकोणलाई अझ प्रस्ट पार्छ। यो सन्देश अबको नेपालमा सामाजिक एकता, धार्मिक सांस्कृतिक सहिष्णुता, र धार्मिक तथा साँस्कृतिक बहुलताको सम्मान गर्न मार्गनिर्देशन गर्छ।
४. कूटनीति र भूराजनीतिक सम्बन्धःपृथ्वीनारायण शाहले 'दिव्योपदेश' मा नेपाललाई 'दुई ढुंगाबीचको तरुल' को रूपमा चित्रण गरेका छन्, जसले उत्तरमा चीन र दक्षिणमा तत्कालीन बेलायती साम्राज्य (हाल भारत) लाई जनाउँछ। नेपालले 'चीनका सम्राटसँग मित्रताको सन्धि कायम राख्ने' र 'दक्षिणी समुद्रका सम्राटसँग पनि' राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने सन्देश दिव्योपदेशमा पाइन्छ। त्यस समयमा देशको भूभाग जोडिएका राज्यसँग नै बढि सम्बन्ध र द्वन्द्व पनि हुने हुँदा विदेश नीतिमा पृथ्वीनारायाण शाहले चीन र भारत (बेलायती सामाज्य)को मात्र नाम लिए पनि हामीलाई दिव्योपदेशले सन्तुलित र देशको हितलाई प्राथमिकतामा राखेर विदेश नीति अङ्गाल्न पर्ने सन्देश दिव्योपदेशले दिन्छ। यसको अर्थ, अन्य राष्ट्रको तुलनामा यी दुई छिमेकीलाई सन्तुष्ट राख्दै सन्तुलित छिमेक नीति नै नेपालको हितमा हुन्छ भन्ने धारणा हो। अहिले नेपालको असन्तुलित र लापर्बाह विदेश नीतिका कारण नेपाली प्रधानमन्त्रिलाई छिमेकी भारतले सामान्य सिष्टाचार भ्रमणको निम्तासमेत नदिएको सन्दर्भमा पृथ्वीनारायण शाहको विदेश नीतिको सन्देश निकै सान्दर्भिक देखिन्छ।
यसका साथै नेपाल भौगोलिक र आर्थिक रूपमा छिमेकीहरूभन्दा सानो भएकाले, नेपालको सार्वभौमिकता जोगाउन आक्रामकभन्दा रक्षात्मक रणनीतिमा जोड दिनपर्ने कुरा दिव्योपदेशमा पाइन्छ। चतुर कूटनीतिले मात्र नेपालको अस्तित्व जोगाउन सकिन्छ र चतरु कुटनीति भनेकै व्यावहारिक कूटनीति हो भन्ने सन्देश दिव्योपदेशले दिन्छ। २०४६ सालसम्म सन्तुलित र मर्यादित रहेको नेपालको कुटनीति नेपाल र नेपालीको दुर्भाग्यले आज क्रमशः अव्यावहारिक, असन्तुलित र अमर्यादित बन्दै गएको छ। यस सन्दर्भमा देशको दूरगामी हितका लागि नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि 'पृथ्वीपथ' को बाटो अवलम्बन गर्नुपर्ने अति आवश्यकता छ।
५. आर्थिक दुरदर्शिता- आत्मनिर्भरता र स्थानीय उत्पादनमा जोडः पृथ्वीनारायण शाहको आर्थिक दर्शन आत्मनिर्भरता र स्थानीय उत्पादनमा केन्द्रित थियो। उनले कृषिलाई अर्थतन्त्रको जग मानेर खाद्यान्न आत्मनिर्भरतामा जोड दिएका छन्। हरेक बर्ष दुई अढाइ खर्ब रुपैयाँबढिको खाद्यान्न आयात गर्ने नेपालको लागि पृथ्विनारायण शाहको आर्थिक नीतिको झनै महत्व रहेको छ। पृथ्विनारायण शाहले विदेशी आर्थिक निर्भरताको खतरा बुझेका थिए र जनतालाई आर्थिक रूपमा सबल बनाएर राष्ट्रलाई बलियो पार्ने विचार राखेका थिए।
पृथ्वीनारायण शाहको आर्थिक लक्ष्य स्थानीय उद्योगको विकास, आयात घटाउने र निर्यात बढाउने थियो। उनको यो दूरदर्शी नीतिले कृषिमा लगानी, स्थानीय उत्पादनलाई प्रोत्साहन, र आत्मनिर्भर अर्थतन्त्रको स्पष्ट मार्गचित्र प्रस्तुत गर्छ, जुन आधुनिक नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छ।
६. प्रशासनिक कुशलता र भ्रष्टाचार निवारणः पृथ्वीनारायण शाह प्रशासनिक दक्षताप्रति विशेष सोच राख्दथे र यसमा प्रतिबद्ध पनि थिए। भ्रष्टाचार उन्मूलनलाई प्रभावकारी प्रशासनको आधार मानेर नै "घुस लिने र दिने दुवै दोषी छन्" भन्ने उनको भनाइ रहेको थियो।
पृथ्वीनारायण शाहको दूरदृष्टिले प्रशासनलाई कसरी बलियो बनाउन सक्छ भन्ने एउटा उत्कृष्ट उदाहरण पजनी प्रणाली पनि हो। यो उनको समयको एउटा प्रगतिशिल कदम थियो जसले प्रशासनिक अधिकारीहरूको दक्षता र जवाफदेहिता सुनिश्चित गर्न सहयोग गर्थ्यो। पजनी प्रणाली एउटा वार्षिक समीक्षा प्रक्रिया हो जसमा सरकारी अधिकारीहरूको कार्यसम्पादनलाई मूल्याङ्कन गरेर उनीहरूको योग्यता र कार्यक्षमताको आधारमा मात्र पदोन्नति, नियुक्ति वा आवश्यकताअनुसार बर्खास्त गर्ने व्यवस्था मिलाउछ। अहिलेको सन्दर्भमा पनि हरेक सरकारी कर्मचारिको बार्षिक कार्यसम्पादन मुल्याङ्कन गरेर जिम्मेवारि हेरफेर, बढुवा सरुवा वा बर्खास्तसम्म गर्ने प्रणालि भित्र्याउन यो नीति सहयोगी बन्ने छ।
७. राष्ट्रिय सुरक्षाः पृथ्वीनारायण शाहको दूरदृष्टिले राष्ट्र निर्माणका लागि सैन्य शक्तिलाई महत्त्वपूर्ण आधार मानेको थियो, जहाँ अनुशासित र समावेशी सेनाले शान्ति र सुरक्षाको ग्यारेन्टी गर्छ। उनको समय युद्ध नै युद्धमा वितेको भएर पनि उनले राष्ट्रिय सुरक्षामा सैन्य शक्तिलाई महत्वपूर्ण आधार मानेका छन्। तर अहिलेको सन्दर्भमा पनि देशको आकार र भौगोलिक अवस्था तथा आन्तरिक परिस्थिति हेरेर देशको सैन्य शक्ति चुस्त, आधुनिक र सक्षम हुनपर्ने आवस्यकता देखिन्छ।
८. रैथाने साँस्कृतिक धार्मिक संरक्षणः पृथ्वीनारायण शाहले देशको मौलिक संस्कृति र धर्मको संरक्षणमा विशेष जोड दिएका थिए। उनको महत्त्वपूर्ण भनाइ, 'सबैले आ-आफ्नो कुला धर्म मान्नु', ले धार्मिक सहिष्णुता र हरेक समुदायलाई आफ्नो परम्परागत धर्म तथा संस्कृति निर्बाध रूपमा पालना गर्न पाउनुपर्ने अधिकारलाई स्थापित गर्छ। यसको अर्थ कसैले पनि अर्काको धर्म वा संस्कृतिमा हस्तक्षेप गर्नु हुँदैन र हरेक व्यक्तिले आफ्नो सनातन धर्म संस्कृति को संरक्षण गर्नुपर्छ भन्ने थियो।
यो धार्मिक नीति अहिलेको सन्दर्भमा झनै सान्दर्भिक देखिन्छ। नेपालका पहाडी क्षेत्रमा मिसनरीहरू र दक्षिणी भूभागमा जिहादीहरूले तीव्र धर्म परिवर्तनका गतिविधिहरू सञ्चालन गरिरहेका छन्। यी गतिविधिहरूले धार्मिक द्वन्द्व फैलाउने जोखिम बढाएको छ। दुःखको कुरा, यस्ता कार्यहरूलाई कथित 'नागरिक अगुवा' का नाममा विदेशीका एजेन्टहरूले भरमग्दुर सहयोग गरिरहेको आरोप लाग्ने गरेको छ। यस्तो संवेदनशील अवस्थामा, पृथ्वीनारायण शाहले परिकल्पना गरेको धार्मिक स्वतन्त्रता र मौलिक संस्कृति संरक्षणको नीति को महत्त्व अझ बढेको छ। उनको दूरदृष्टिले नेपालको धार्मिक सद्भाव र सांस्कृतिक विविधतालाई जोगाउन आज पनि मार्गनिर्देशन गर्न सक्छ।
समग्रमा, पृथ्वीनारायण शाहको 'दिव्योपदेश' कुनै एक राजाका व्यक्तिगत विचार मात्र नभएर एक एकीकृत, स्वाभिमानी, समृद्ध र सार्वभौम नेपाल निर्माणको वृहत खाका हो। यसको गहिरो मर्मलाई बुझेर 'पृथ्वीपथ' लाई नेपालको मूल दार्शनिक र मार्गदर्शक सिद्धान्त का रूपमा स्थापित गर्नु वर्तमान नेपालको आवश्यकता हो। यसले राष्ट्रलाई आफ्नो मौलिक पहिचान र दूरगामी हितलाई केन्द्रमा राखेर अगाडि बढ्न प्रेरणा दिनेछ।
